नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल आएका ६ जनामध्ये ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ प्रजातिको कोरोना भाइरसको उद्गमस्थल बेलायतबाट केही दिन अगाडि ६ जना नेपाल आएका थिए । नेपाल आएदेखि नै उनीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निगरानीमा थिए ।

निगरानीमा राखिएका ६ जनाकै नमूना संकलन गरी नेपालमा ‘सार्स–कोभ–२’को परीक्षण गरिएको थियो । जसमध्ये ३ जनाको नमूनामा ‘एस–जिन टार्गेट’ नगेटिभ देखिएकोमा उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो–होइन भनी पुष्टि गर्नका लागि पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो ।

हङकङ प्रयोगशालाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई ईमेलमा प्राप्त परीक्षण रिपोर्टमा ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पोजेटिभ देखिएको छ । नयाँ प्रकारको कोरोना संक्रमण पोजेटिभ देखिनेमा (६७ र ३२ वर्षका २ जना पुरुष र २८ वर्षीया १ जना महिला छन् ।

उनीहरुमा देखिएको कोरोना भाइरस बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ प्रकारको कोरोना देखिएका ३ जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा हाल आरटी–पीसीआर नगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजेटिभ नै रहेपनि लक्षण नदेखिएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button