नेपालमा हालसम्म ९४ लाख ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं– नेपालमा हालसम्म दुई करोड १२ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइसकेको छ। तीमध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ लाख ५० हजार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा गत माघदेखि खोप लगाउन थालिएको हो।

एक वर्षको अवधिमा नेपालमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना खोप प्रयोग गरिएको छ। १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ।

नेपालमा हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा खोप आइसकेको मन्त्रालयको तथ्यांक छ। नेपाल सरकारले एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए।

विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको बताएको छ। यही पुस महिनासम्म १८ वर्षभन्दा माथिको ६६ प्रतिशत जनसङ्ख्या र चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको मन्त्रालयको भनाइ छ।

प्रदेशहरूमा खोप अभियानको अवस्था हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा बढी खोप लगाइएको देखिएको छ । बागमती प्रदेशमा पहिलो खोप लगाउनेको जनसंख्या ७५ प्रतिशत रहेको छ भने दुवै मात्राको खोप लगाउने ६१ प्रतिशत छ।

सबैभन्दा कम खोप लगाउने प्रदेश २ मा छन् । मन्त्रालयका अनुसार सो प्रदेशमा पहिलो खोप लगाउने ३९ प्रतिशत छ भने दुवै खोप लगाउने २४ प्रतिशतमात्र छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button