कांग्रेसले आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ।

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने गरिएको छ।

आज ७७ जिल्ला कार्यसमितिले आ-आफ्नो जिल्लामा विभिन्न कार्यक्रम गर्दैछन्। मेलमिलाप दिवसमा सहभागी हुन केन्द्रीय नेताहरू जिल्ला जाने कार्यक्रम पनि छ।

आज बिहान साढे ९ बजे सूचना, सञ्चार तथा प्रचार विभागले ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल कार्यक्रम राखेको छ। उक्त कार्यक्रमका प्रमुख वक्ता सभापति शेरबहादुर देउवा र नेता प्रदीप गिरि छन्।

आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो।

त्यसपछि २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए। तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए।

कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button