मस्जिदमा भएको आक्रमण नियोजित: अन्तरधार्मिक शान्ति महासंघ

निरोज तोलाङे / काठमाडौंको सुन्धारा स्थित धरहरा पछाडि रहेको नेपाल मदिनी मस्जिदमा कार्तिक ८ गते शनिबार डोजर लगाई गरिएको तोडफोड् र क्षतिप्रति अन्तरधार्मिक शान्ति महासंघ नेपालले सो घटना नियोजित देखिएको बताएको छ ।
सय बर्षभन्दा अघि देखिनै भोग चलन गरिआएको अल्पसंख्यक नेपाली मुस्लिम समुदायको आराधना तथा सांस्कृतिक केन्द्रको रूपमा सम्मानित यो मस्जिदमा यसरी भएको हमला नियोजित देखिएको भन्दै महासंघले घटनाको भर्त्सना गरेको हो ।
“हाम्रो जस्तो बहुधार्मिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष राष्ट्र जहाँ अन्तरधार्मिक शान्ति र मिलापको लामो र गौरवमय इतिहास रहिआएको छ, कुनै पनि धार्मिक समुदायको आस्था तथा अभ्याससँग सम्बन्धित स्थल र भवनमाथि यसरी आक्रमण हुनु अति दुःखद अवस्था हो ।
यसकारण यस निन्दनीय घटनाको कडा भत्र्सना गर्दै, यस कार्यमा संलग्न जो कोही भए तापनि शिघ्रातिशिघ्र सत्य तथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारबाही गरी सार्वजनिक जानकारीमा ल्याउन यस अन्तरधार्मिक शान्ति महासंघ नेपाल सरकारलाई अनुरोध गर्दछ,” महासंघका महासचिव डा. महेन्द्र भट्टराईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।