नेपाल राष्ट्रको समृद्धिका पाँच सुत्रहरु…

नेपाल राष्ट्रको समृद्धिका लागि अब मुलुकभरि गाउँ र वडा तहसम्मै एउटा गैरदलीय चरित्रको समावेसी स्वयंसेवक अभियानको खाँचो छ ।

यो विकल्पमा सम्पूर्ण नेपाली देशप्रेमी कर्तव्यनिष्ट नागरिकहरूले जनकेन्द्रित एवं लोककल्याणकारी दायित्वबोध गर्नुपर्दछ ।

यहाँ सुझाइएका रहेका पाँच बुँदाहरू मुलुकको सर्वाङ्गीण समद्धिका लागि मूल सुत्र हुनेछन्ः

१. नेपालीमात्रको अबिरल चाहना-लोककल्याणकारी समाजको स्थापना !

सामाजिक प्राणी भएको नाताले प्रत्येक व्यक्तिको चाहना समाजमा एकअर्काको वास्ता, प्रेम र सद्भाव कायम रहोस्, समाजमा कसैले पनि अन्याय अत्याचार भोग्नु नपरोस् र कोही पनि पीडित-प्रताडित भएर बाँच्नु नपरोस् भन्ने हो ।

त्यो चाहनाको प्रत्याभूति त्यसबेला सम्भव हुन्छ, जब समाजका अगुवाहरू लोककल्याणकारी दायित्वमा समर्पित हुन्छन् ।

यसको अर्थ अगुवाहरू आफ्नो कर्तव्यमा इमान्दार र अटल भएर तोकिएको जिम्मेवारी पालन गर्न प्रयत्नशील भैरहेको परिणामले लोककल्याणकारी समाज स्थापना हुन्छ ।

तपाईं र मेरो समाजमा लोककल्याणका समर्पित अगुवाहरू निर्माण हुनुपर्छ, अर्को समाजमा पनि त्यो प्रभाव फैलिन्छ र अन्ततः देशभरि नै लोककल्याणकारी समाज स्थापना हुनेछ ।

२. आमूल परिवर्तन सम्भव छ- म सक्छु, म तयार छु, म गर्छु !

बिहानदेखि बेलुकासम्म दिनभरि नै हामीले अनेकौं समस्या झेल्नु हाम्रो दैनिकी बनेको छ । हामी समस्याले थिचिएका छौं, तर थलिएका र हार खाएका छैनौं ।

हामीलाई परिस्थितिले, प्रणालीले र चरित्रहिन नेतृत्वले पछार्न खोजेको छ, तर हामी उठ्नै नसक्नेगरी पछारिएका छैनौं ।

हामी मुख र पेटमात्रै लिएर जन्मिएका प्राणीहरू होइनौं । हामी ज्ञान–सीप, क्षमतासहित बाँचिरहेका सामाजिक प्राणीहरू हौं ।

समाजप्रतिको मेरो दायित्व पूरा गर्नका लागि मैले “म सक्छु, म तयार छु, म गर्छु” भन्नुपर्छ । त्यो अरुको काम होइन ।

छिमेकमा हामी २ वा सोभन्दा बढी मानिसहरू एकजूट भएर सेवाको निम्ति समर्पित हुनुपर्छ -देशमा आमूल परिवर्तन सम्भव छ !

३. तत्काल उद्धार, राहत र पुनस्र्थापना-स्थानीय स्वयंसेवक समुह परिचालन !

देश जहिल्यै प्राकृतिक प्रकोपको जोखिममा रहेको छ । त्यसमाथि आम नेपाली जनजीवन विभेदपूर्ण सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थाका कारण संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ -कुनबेला कहाँ के आइलाग्ने हो भन्ने त्राशमा सिङ्गो देश बाँचिरहेको छ !

तरै पनि यस्तो अनिश्चयताको स्थायी समाधान र अन्त्य सम्भव छ, जसका लागि स्थानीय तहमै आफ्नो समुदायमा आइलाग्ने सबैखाले विपत्तिहरूको उचित सम्बोधनका लागि तत्काल जुट्न तयार स्वयंसेवक समुह गठन गरिएको हुनुपर्छ ।

स्थानीय समुदायका सबै मानिसहरूको सुखदुःखमा सधैं उभिइने प्राथमिकताका लागि गाउँगाउँमा स्वयंसेवक समुहहरू निर्माण र परिचालन गर्नुपर्छ ।

४. स्थानीय खाँचो, दर्शन र पहल-दीगो विकास र समृद्धिको शर्त !

दीगो विकास र समृद्धिका लागि स्थानीय प्रयत्न अपरिहार्य हुन्छ ।

स्थानीय खाँचो, स्थानीय दर्शन र स्थानीय प्रयत्नले सिर्जना गर्ने विकासले लाभान्वित पक्षलाई सो प्रयत्नको स्वामित्व ग्रहण गर्न सक्षम तुल्याउने भएकोले विकासको फल आफैंमा दीगो बन्ने छ ।

तोकिएको लाभान्वित समुहलाई नै मालिक नतुल्याउँदासम्म ‘माथि’बाट थोपरिएको विकासका लागि हुने जतिसुकै ठूलो योजना र लगानी समेतले अपेक्षित विकासको परिणाममा पुर्याउन सक्दैन ।

त्यसकारण “म मेरो गाउँलाई बनाउँछु !” भन्ने प्रण एकपल्ट प्रत्येक नेपालीले मनैदेखि लिनुपर्छ र स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा विकासका योजनाहरू बनाई कार्यान्वयन गर्नुपर्दछ ।

५. अपराधमुक्त समाजको स्थापना-नैतिकवान नेतृत्वमा राष्ट्रवादी नयाँ पुस्ता !

नेपालजस्तो प्राकृतिक एवं सामरिक दृष्टिले अत्यन्तै उर्जाशील सम्भावना भएको देशलाई निरन्तरजसो अधोगतितिर घिसार्ने काम भैरहेको हेरेर बस्ने लाचार मानिसहरू हामी बन्नुहुँदैन ।

सार्वजनिक सेवाको क्षेत्रमा अपराध र भ्रष्टाचार क्यान्सरझैं नराम्रोसित झाँगिएको छ  -देशबाट यो रोगलाई निराकरण गर्न तिनै रोगीहरूकै भरपर्नु हुँदैन, यसमा क्रमभङ्गता अनिवार्य भैसक्यो !

मुलुकमा व्याप्त सबैखाले अपराध र भ्रष्टाचार समाप्त गर्न नैतिकवान, जनउत्तरदायी तथा लोककल्याणका लागि अपराजयी इमान्दार राष्ट्रवादी नयाँ नेतृत्वपुस्ता तयार गर्नु नितान्त जरुरी भैसकेको छ !

माथि उल्लेखित पाँच सूत्रहरू पढेपछि तपाईंमा नयाँ चेतनाले घच्घच्याएको अनुभूति भैरहेको छ भने आजैदेखि आफूवरपरका चेतनशील एवं न्यायप्रेमी र परिवर्तनशील मानिसहरूसँग कुराकानी शुरू गर्नुहोस् ।

थप जानकारी तथा प्रतिक्रियाको लागि : सम्पर्क फोन नं. ९८४३५७५२८१ र इमेल: khanaljee2012@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button