पत्नी सीताको उपचारका लागि भारत गए प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारका लागि भारत गएका छन् ।
पत्नी सीताको उपचारका लागि प्रचण्ड सोमबार बिहान भारतको दिल्ली गएका हुन् । प्रचण्ड पत्नी सीताको उपचार मुम्बईमा हुने जनाइएको छ ।
प्रचण्ड सोमबार नै दिल्ली हुँदै मुम्बई जाने जनाइएको छ । काठमाडौंबाट मुम्बई सीधा उडान नहुने भएका कारण प्रचण्ड काठमाडौंबाट दिल्ली र दिल्लीबाट मुम्बई जाने जनाइएको छ ।
आइतबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नीको उपचारका लागि भारत जान लागेको जानकारी गराएका थिए ।
सीतालाई मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टीम थेरापी गराइने प्रचण्डको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।
स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । चिकित्सककै सल्लाहमा उनलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको थियो ।
यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरिरहेकी थिइन् ।