पत्रकारलाई धम्कीप्रति प्रेस युनियन सिन्धुपाल्चोकको गम्भीर ध्यानाकर्षण

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा निर्माणाधीन कालोपत्रे सडकको समाचार संकलनका क्रममा गएका पत्रकारहरुमाथि निर्माण व्यवसायी प्रताप लामाले गरेको गालीगलौज माथि नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आज एक बिज्ञप्ती जारी गर्दै प्रेस युनियन सिन्धुपाल्चोक शाखाले उक्त घटनाको घोर भत्सर्ना गरेको हो ।
प्रेस युनियनका सदस्य एवं कान्तिपुरकर्मी अनिश तिवारी, मेघा टेलिभिजनकर्मी आशिष तिवारी र सरोकार टेलिभिजनका रामचन्द्र बस्नेतले सडक अवलोकन र समाचार संकलन पछि व्यवसायी लामासँग समाचार स्रोतको पुष्टि गर्ने क्रममा टेलिफोन संवाद गर्दा लामाले पत्रकारमाथि असभ्य, अपशब्द प्रयोग गरी गालीगलौज गरेका थिए।
व्यवसायी लामाले पत्रकार तिवारीलाई टेलिफोन संवादमा गालीगलौज गर्दै जे पनि गर्ने भन्दै धम्की समेत दिएका थिए।
निज लामाले टेलिफोनमा दिएको धम्कीको अडियो क्लिप युनियन शाखासँग सुरक्षित रहेको शाखाले जनाएको छ।
कोरोनाको महामारीमा समेत अग्रमोर्चामा खटिएका पत्रकारहरूमाथी अपशब्द प्रयोग गरी गरिएको गालीगलौचले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थालाई समेत चित्रित गरेको छ।
यस्तो कार्यले पत्रकारहरु अझैपनि निर्भिक रुपमा समचार संकलनमा खटिन सक्ने अवस्था नरहेको पुष्टि गर्दै आगामी दिनमा यस्ता खालका क्रियाकलाप दोहोरिन नदिन प्रेस युनियन सिन्धुपाल्चोक सम्बन्धित पक्षलाई गम्भीर ध्यानाकर्षण गराउँदछ अध्यक्ष दुर्गा आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।