पाँच दिनमा ‘सिनारियो’ परिवर्तन हुन्छ, पार्टी फुटाउन कसैले सक्दा पनि सक्दैन : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पाँच दिनमा निकास निस्कने दाबी गरेका छन्।
एपी वान टेलिभिजनको मंगलवार प्रसारण भएको कार्यक्रममा ओलीले पाँच दिनमा सिनारियो नै बदलिने दाबी गरे ।
पार्टीमा देखिएको विवाद र खिचातानी र सम्बन्ध हप्ता दश दिनमा गाँसिएलान् भन्ने प्रश्नमा ओलीले यस्तो बताएका हुन् । उनले भने,‘ हप्ता दश दिन होइन, हप्ता भन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो। भोलिबाट एक भनेर काउन्टडाउन सुरू गर्नुहोला ।’
यसो भनेको भोलिपल्ट अर्थात आज उनी र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेको छ । ९ दिन यता दुई अध्यक्षबीच कुनै छलफल हुन सकेको थिएन ।
ओलीले पार्टीमा आफूले गुट नचलाएको दाबी गरे ।
’म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो ? गएको चुनावमा एउटा गुट चलाएको देख्नुभयो कि मेचीकाली अभियान चलाएको देख्नुभयो ? मेचीकाली जनसागर उर्लेको देख्नुभयो ? देश ड्राइभ गर्न हिँडेको मान्छे सानो गुट चलाएको देख्नुभयो ? म संसदीय दलको नेता पनि निर्वाचन जितेर आएको हुँ। अध्यक्ष पनि लडेर भएको हुँ। म भन्दा अघि त लड्ने चलन थिएन नि। लोकप्रिय मान्छे अगाडि बढ्न दिने चलन थिएन।’ ओलीले भने ।
ओलीले पार्टीमा अहिले देखिएको समस्या ठूलो समस्या नभएको बताए ।
‘पार्टीभित्रको समस्या कुनै ठूलो समस्या होइन, यसलाई हामीले समाधान गर्न सक्छौं, गर्नुपर्छ। देशको आवश्यकता, जनताको आवश्यकता, भावनालाई हेर्नुपर्छ, त्यसलाई कदर गर्नुपर्छ र हामी अगाडि बढ्नुपर्छ’ ओलीले भने,‘ म कसैप्रति आरोप लगाइरहेको छैन।
अस्ती पत्रकार सम्मेलन भयो, मैले कुनै जवाफ पनि दिइनँ।’ उनले आफ्नो सम्पूर्ण प्रयास पार्टी मिलाउने र फुट्न नदिनेमा हुने उनले बताए ।
‘मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ, आदिरइत्यादि जस्ता अभिव्यक्ति पनि दिएर पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार होऊ भन्ने खाललै अभिव्यक्ति दिइरहनुभएको छ।’, उनले भने, ’मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। पार्टी फुटाउन कसैले सक्दा पनि सक्दैन।’