पार्टी फुट नजिक पुगेको आशंकाका बीच बालुवाटारमा ओली र प्रचण्ड छलफलमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड बिहीबार मध्याह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

प्रचण्ड र ओलीबीच पछिल्लो समय गत शनिबार भेटवार्ता भएको थियो । शनिबारको भेटवार्ता पछि दुई अध्यक्षबीच झन ‘असमझदारी’ बढेको विषय सार्वजनिक भएको थियो । दुई अध्यक्षबीच बढेको ‘असमझदारी’का कारण नेकपामा विवाद चर्किएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले ‘सहमति मै पार्टी फुटाऔं’ भन्ने प्रस्ताव अगाडि सारेको भन्दै गत आइतबार प्रचण्डले आफू निकटका ६ जना सचिवालय सदस्यलाई ब्रिफिङ गरेका थिए ।

प्रचण्डको उक्त ब्रिफिङ पछि नेकपा विभाजको नजिक पुगेको विश्लेषण भइरहेको छ । यस्तै, अर्का अध्यक्ष ओली पक्षका नेताहरुले भने प्रचण्ड पक्षबाट प्रधानमन्त्रीको राजीनामा माग भएको भन्दै ‘प्रचण्डकै कारण’ पार्टीमा विवाद बढेको बताउँदै आएका छन् ।

पार्टी भित्रको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बुधबार नै भेटवार्ता हुने भनिएको थियो । तर, बुधबार पूर्व सभामुख एवम् नेकपा नेता कृष्णबहादुर महाराकी पत्नी सीताको निधन भएपछि अध्यक्ष प्रचण्ड बालुवाटार गएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button