पूर्वमन्त्री हृदयेश त्रिपाठीले गठन गरे जनता प्रगतिशील पार्टी

काठमाडौं– पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेका हुन्। गएको प्रतिनिधि सभा निर्वाचनमा सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठीले नयाँ पार्टी गठन गरेका हुन्।
पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको प्रष्ट्याए। उनले अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकोले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताए।
पूर्वमन्त्री त्रिपाठीले अन्य दलको आलोचना नगरी काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने पनि दाबी गरे। उनले संविधान कार्यान्वयनको क्रममा देखिएका जटिलताको पहिचान गरी आगामी निर्वाचन पूर्वसहमति प्राप्त बुँदाहरुमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै आफ्नो पार्टीले संविधान संशोधनका लागि काम गर्ने बताए।
उनले प्रतिनिधि सभा सदस्य रेशम चौधरी हालसम्म जेलमा रहनु बिडम्बना भएको पनि बताए। पूर्वमन्त्री त्रिपाठीले एमसीसी लगायत कतिपय विषयहरुमा राष्ट्रिय सहमति खोज्नुपर्ने पनि बताए।