पूर्वसभामुख महराले भने–नेकपाको विवादले जनता निराश भए

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले जनता निराश बन्न पुगेको बताएका छन् ।
अध्यादेश प्रकरणपछि नेकपाभित्रको अन्तरकलह चरमोत्कर्षमा पुगेपछि विज्ञप्ति जारी गर्दै महराले कोरोनाका कारण मुलुक आक्रान्त बनेका बेला दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनु राम्रो नभएको प्रतिक्रिया दिएका छन् । “महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको छ । कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ । देश अहिले लकडाउनको अवस्थामा छ । अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ ।
अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ । हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरूद्ध संघर्ष गर्ने बेला हो । मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्,” उनले विज्ञप्तिमा भनेका छन्, “यस्तो जटिल अवस्थामा दलहरूबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिँदैन । दलहरूबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु ।”
दाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महराले पार्टीभित्रको विवादबारे पहिलोपल्ट मुख फोरेका हुन् । प्रचण्डका विश्वासपात्र मानिएका महरा संसद सचिवालयको कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपपछि सभामुखबाट बहिर्गमन भएका थिए । महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिइसकेको छ ।