पूर्व आईजिपी खनालको घुमुवा टोली मानव अधिकार उल्लङ्घनकर्ताको सूचीमा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कुमार पौडेलको हत्यामा संलग्न प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालका घुमुवा इन्स्पेक्टर केडी साहसहितको समूहलाइपनि मानवअधिकार आयोगले उल्लंघनकर्ताको सुचीमा राखेको छ।
बिहिबार आयोगले मानव अधिकार उल्लङ्घनकर्ताको सूची सार्वजनिक गर्दै उल्लंघन गर्नेहरुको नामावली सार्वजनिक गरेको हो।
विप्लव नेकपाका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज पौडेलको खनाल आईजिपी रहेका बेला हत्या भएको थियो। खनालकै घुमुवा टोलीले माथिको आदेशमा पौडेलको हत्या गरेको आरोप छ।
आयोगले उक्त घटनामा संलग्न र आदेशदिने दुवैलाई कारवाही गर्न सिफारिस गरेपनि हालसम्म कसैमाथि कारवाही हुन सकेको छैन।
उक्त घटनामा प्रत्यक्ष संलग्न हुनेमाथि कारवाहीको प्रक्रिया अगाडि बढ्ने हो भने यसमा पूर्व आईजिपी खनाल स्वयंम तानिन सक्ने जानकारहरु बताउँछन्।
आयोगले बिहीबार २० वर्षको अवधिमा मानव अधिकार उल्लंघन गरेका २ सय ८६ जनाको सूची सार्वजनिक गरेको हो।
आयोगले आफ्नो सिफारिस कार्यान्वयनका लागि विभिन्न निकायबीच अन्तर मन्त्रालय कार्यान्वयन कार्यदल बनाउन समेत आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट समन्वय गरेर मानव अधिकार उल्लंघनकर्तालाई कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ।
आयोगले प्रतिवेदनमार्फत् संसदीय समितिमा आफ्नो प्रतिवेदनमाथि छलफल गर्न र दण्डहीनताको अन्त्य गर्न ध्यानाकर्षण गराएको छ।