पोखरालाई आर्थिक विकासको हब बनाउनुपर्छ: मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको हब बनाउने खालका योजना तर्जुमा गरेर अगाडि बढ्नपर्ने बताएका छन।

पोखरा महानगरपालिकाको १०औँ सभाको आज उद्घाटन कार्यक्रममा उनले भने, “गण्डकी प्रदेश हरेक सूचाकाङ्कमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा हामी पछाडि छौँ । यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँ नेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने आवश्यकता छ।” पोखरा अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्रको रुपमा विकास अघि बढेको मुख्यमन्त्री दाबी छ।

पोखरा भनेको कास्कीभित्रको सहरी क्षेत्र मात्र होइन पूर्वमा मुग्लिन र पश्चिममा राम्दीसम्मको भूभागलाई समेट्ने गरी विकास गर्न पोखराले चासो देखाउनुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारले सङ्घ सरकारको सहयोगमा स्टाटेलाइट सहर विस्तारका लागि गृहकार्य गरिरहेको जानकारी दिए।

“सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव छैन। त्यसका लागि वृहत पोखराको परिकल्पना गरिएको हो”, मुख्यमन्त्री पोखरेलले भने, “स्थानीय तहका पाँच वर्ष पूरा हुनै लाग्दा अब आफूले आफैँलाई समीक्षा गर्नुपर्ने बेला भएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button