प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

काठमाडौं । विभाजित नेकपाका प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

अपरान्ह पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघर्ष समितिका सचिव डा। विजय पौडेलले नेपालप्रेसलाई बताए ।

पत्रकार सम्मेलनअघि आजै केन्द्रीय कार्यालय पेरिसडाँडामा संघर्ष समितिको सचिवालय बैठक बस्दैछ ।

दुई चरणका आन्दोलन कार्यक्रम सफल भएको र प्रतिगमनलाई धक्का दिएकोले अबको कार्यक्रमले प्रतिनिधिसभा पुनःस्थापना हुने दावी प्रचण्ड माधव पक्षको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड नेपाल समूह संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएको छ ।

नेकपाले यसअघि प्रतिनिधि सभा विघटनको विरोधमा केन्द्रीय सभादेखि वडा तहसम्म प्रदर्शन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button