प्रचण्ड–नेपाल समूहका थप १ सांसदलाई प्रदेश १ का मुख्यमन्त्रीद्वारा कारबाही

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अर्का १ जना सांसद (प्रदेशसभा सदस्य) लाई संसदीय दलको सदस्यबाट निलम्बन गरेका छन् ।

नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड–नेपाल पक्षका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित गरिएको जनाइएको छ ।

मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरिएको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् । राईले बिहीबार मात्रै प्रचण्ड–नेपाल समूहका १५ सांसदलाई निलम्बन गरेका थिए ।

गत आइतबार मात्रै प्रचण्ड–नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा ३७ जना सांसदको हस्ताक्षर छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टी संसदीय दलको नेताबाट समेत राईलाई हटाएको छ । मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यालाई संसदीय दलको नेता चयन गरिएको छ ।

प्रदेश नम्बर १ मा कूल ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये नेकपाका मात्रै ६७ जना सांसद रहेका जनाइएको छ ।

नेकपा विभाजित भएपछि प्रचण्ड–नेपाल समूहमा प्रदेश १ का ३६ जना सांसद छन् भने प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको समूहमा २४ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button