प्रचण्ड–माधव समूहले अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने तयारी

काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए ।
यसअघि माघ ९ गते उक्त समूहले काठमाडौँ उपत्यकामा विशाल विरोध सभा गरेको थियो ।
आजको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको नेता रिजालले बताए।
बैठकमा अध्यक्षद्वयले संविधान भत्काएर ओलीले चाल्ने जुनसुकै तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव समूहले सडक संघर्ष गरिरहेको छ ।