प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलको हवाई उडान प्रभावित

३ पुस, धनगढी । मौसमका कारण धनगढी विमानस्थलको हवाई उडान सेवा प्रभावित भएको छ।

शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र शीतलहरका कारण काठमाडौँबाट हुने उडान प्रभावित भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले प्रतिकूल मौसमका कारण काठमाडौँबाट बिहान ८ बजे बुद्ध एयरले गर्ने उडान र ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सले गर्ने उडान हुन नसकेको बताए।

यद्यपि मौसम सफा भएमा ढिलोगरी भएपनि उडान हुने विमानस्थल कार्यालयका प्रमुख थापाले बताए।

उनका अनुसार शुक्रबार प्रतिकूल मौसमकै कारण धनगढीबाट सुदूर पहाडका जिल्लामा हुने हवाई उडान पनि हुन सकेको छैन।

बिहीबार पनि बाक्लो हुस्सु र शीतलहरका कारण बिहानको उडान प्रभावित हुँदा ढिलोगरी भएको थियो।

अहिले धनगढी-काठमाडौँ, काठमाडौँ-धनगढी र धनगढीबाट दार्चुला र बैतडी बाहेकका सुदूरपश्चिम पहाडका जिल्लामा हवाई सेवा सञ्चालन हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button