प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अर्को शुक्रबार

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ ।
बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय हुन सकेन।
दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको हो।
बुधबार भएको सुनुवाइमा सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए।
रिट निवेदकतर्फका थापाले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने बहस गरेका थिए। सरकारका तर्फबाट खरेलले मुद्दालाई संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने पक्षमा बहस गरेका थिए।
बुधबारको संवैधानिक इजलासमा सपना प्रधान मल्ल बाहेकका न्यायाधीश यसअघिकै दोहोरिएका थिए ।
हरिकृष्ण कार्कीको इजलास छाड्ने घोषणापछि उक्त ठाउँमा मल्ल आएकी हुन् । प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा सहित विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी यसअघि पनि थिए ।