प्रतिनिधिसभा विघटन भएपनि सरकार कामचलाउ भएको छैनः प्रवक्ता गुरुङ

काठमाडौं, १७ पुस । सरकारका प्रवक्ता पार्वत गुरुङले प्रतिनिधिसभा विघटन भएपनि वर्तमान सरकार कामचलाउन नभएको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुरुङले प्रतिनिधिसभा विघटनपछि केही अन्यौल सिर्जना भए पनि त्यस्तो अन्यौल र भ्रममा नपर्न समेत आग्रह गरे ।
सरकारले गरेका सवै काम संवैधानिक भएको तर्क गर्दै मन्त्री गुरुङले संवैधानिक तर्फबाट सरकारले गर्ने निर्णयमा प्रश्न गर्ने ठाउँ नभएको धारणा पनि राखे ।
त्यस्तै उनले सडकमा राजनीतिक एजेन्डा नदेखिएको र राष्ट्रपति संस्थाप्रति नै असभ्य नारा लगाइएको भन्दै निन्दनीय भएको बताए । सरकारको विरोध गरेको चुनावी एजेन्डा मात्र भएको र सडकमा जाने बाहना मात्र भएको उनले बताए । उनले संसदको पुर्नस्थापनाको माग छोडेर चुनावप्रति लक्षित हुन समेत सबै राजनीतिक दललाई आग्रह पनि गरे ।
मन्त्रिपरिषद्का निर्णय सुनाउँदै उनले बिधुतिय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एडिवीबाट प्राप्त हुने अमेरिकी डलर १५६ मिलियन बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरको जानकारी दिए । त्यस्तै बैठकले नेपालको सगरमाथा शिखरको उचाई ८८४८.८६ मिटर भएको सूचना नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन १३ औं संशोधन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।