प्रतिवेदनमाथि छलफल गर्न ओली-प्रचण्डबीच छलफल सुरु

काठमाडौँ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपा अध्यक्षद्वयबीच छलफल सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको हो ।

एक साताको गृहकार्यपछि महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा पार्टीका तत्कालीन विवादहरुको समाधानको उपाय सुझाइएको छ ।

साउन ३० गते ओली र दाहालको सहमतिमा कार्यदल गठन भएको थियो । कार्यदलमा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट दुई–दुई जना नेता तोकिएका थिए ।

जसअनुसार पौडेल र शंकर पोखरेल ओलीनिकट, जनार्दन शर्मा र पम्फा भुसाल दाहाल तथा सुरेन्द्र पाण्डे र भीम रावल नेपालनिकट हुन् । कार्यदलभित्र पर्याप्त बहस भएर अन्तिममा सर्वसम्मतिमा उनीहरुले प्रतिवेदन बुझाएका थिए, जसलाई ओली र दाहाल दुवैले ऐतिहासिक भनेका छन् ।

कार्यदलले बुझाएको प्रतिवेदनले दुवै पद नछाड्ने ओलीको चासो सम्बोधन गरेको छ भने कार्यकारी अध्यक्षको भूमिका खोजेका दाहाललाई पनि त्यसै अनुसार भूमिका दिन सुझाएको छ । विधि र पद्धतिमा पार्टी चलाउने सुझावले नेपालको मुद्दा पनि सम्बोधन गर्न खोजेको छ । प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गरेपछि आवश्यकता अनुसार थप घट गरेर सचिवालयमा लैजाने तयारी छ ।

सचिवालयमा आवश्यक परिमार्जनपछि प्रतिवेदनलाई एउटा प्रस्तावका रुपमा स्थायी कमिटीमा लैजाने तयारी नेताहरुको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button