प्रदर्शनका क्रममा ज्यादति गरेको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै हिजो प्रदर्शनका क्रममा ज्यादति गरेको विरोधमा नेविसंघले प्रदर्शन गरेको छ ।
राजधानीको प्रदर्शनी मार्गमा शुक्रबार दिउँसो प्रदर्शन गरेको हो । वाल्मीकि विद्या पीठबाट निस्किएको जुलुस राष्ट्रियसभा भवन नजिकै पुगेर पुन: वाल्मीकिमै पुगेर कोण सभा गरिएको थियो ।
कोणसभामा प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानुनी कारबाहीको माग गरिएको छ । नेविसंघले प्रदर्शनका क्रममा ‘नेकपाको छोरोले, करोड माग्यो मोरोले’, ‘गोकुलसँगै सिकेछ, केपी ओली बिकेछ’, जस्ता नारा लगाइएका थिए ।
नेविसंघको प्रदर्शनीमा प्रहरी हस्तक्षेप, केही विद्यार्थी गिरफ्तार
हिजो बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शनमार्गमा गरिएको प्रदर्शनीमा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गरिएको थियो ।
प्रहरीको लाठी प्रहारबाट नेविसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डेलगायत विद्यार्थी घाइते भएका थिए ।
हिजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलद्वारमा गरिएको विरोध प्रदर्शनमा पनि नेविसंघका केही केही विद्यार्थी घाइते भएका थिए । प्रहरीले सरकारको निर्देशनमा आफ्ना साथीहरुमा लाठी बर्साएको भन्दै नेविसंघले आज विरोध प्रदर्शन गरेको हो ।