प्रदेश २ को नाम र राजधानी टुंग्याउन निर्वाचन गर्ने तयारी

जनकपुरधाम। प्रदेश २ को नाम र स्थायी राजधानीमा दलीय सहमतिको लागि गठन भएको विशेष समितिको म्याद सकिन दुई दिन बाँकी रहदासम्म पनि दलहरू सहमतिमा पुग्न सकेको छैन।
प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १२ पुसमा विशेष समिति गठन गरिएको थियो। समितिले १४ पुसदेखि दलीय सहमतिको लागि काम थालेको थियो।
समितिले काम थालेको १५ दिनभित्र दलहरूले नाम र राजधानीमा सहमति गरी सभालाई प्रतिवेदन बुझाउनुपर्ने प्रवधान राखिएको थियो। अगामी २९ पुसमा विशेष समितिको म्याद सकिने भए पनि दलहरू भने अहिलेसम्म पनि सहमतिमा पुग्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।
दलीय सहमतिकै लागि सभामुख सरोजकुमार यादवले आइतबार सर्वदलीय बैठक बोलाएका थिए। उक्त बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदानमार्फत तय गर्ने सहमति भएको छ । समितिले प्रदेश सभामा दर्ता भएको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेसमाथि छलफल गरेको थियो। यस्तै, राजधानी जनकपुर र वीरगन्जमाथि पनि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो। तर, कुनै प्रस्तावमा पनि सहमति नभएपछि मतदानका लागि सहमति भएको हो।
मतदानका लागि कुनै पनि प्रस्तावमा बहुमत नहुँदा प्रस्ताव पुनः अस्वीकृत हुने जोखिम छ। नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक पर्छ। प्रदेश सभामा अहिले जसपा ३९, कांग्रेस १९, एमाले ८, नेकपा एकीकृत १३, माओवादी ८, लोसपा १६ र संघीय समाजवादी पार्टी नेपालको १ गरी १०४ जना सांसद छन्।
त्यसमध्ये सत्तारुढ दल जसपा, कांग्रेस, नेकपा एस, माओवादी केन्द्र गरी ७९ मात्रै सासद छन्। अर्थात दुई तिहाइभन्दा एक मत मात्रै बढी छ। तर, ती दलहरूको प्रस्ताव नै फरक फरक रहेकोले नाम र राजधानीसम्बन्धी प्रस्ताव अन्योलमा परेको छ। जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ छ। उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक हुन्छ।
जानकीको पक्षमा एमाले र नेकपा एकीकृत समाजवादीका २१ जना, १९ सांसद रहेको कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ भने कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा छन्।
सचिवालयका सचिव रञ्जित यादवले नाम र राजधानीमा दलीय सहमति नभएर माघ पहिलो साता मतदान प्रक्रियाबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति भएको बताए।