प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णय

काठमाडौं । प्रदेश नम्बर ५ को सरकारले प्रदेशको राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश नं ५ को स्थायी राजधानी बारे निर्णय गरेको हो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेपछि प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले दाङलाई राजधानी तोकेको हो।

दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको छ। यसअघि राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन।

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो। नेकपाको प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा लबिङ गर्दै आएका थिए।

प्रदेश ५ को नामका विषयमा खासै विवाद नभए स्थायी राजधानी कहाँ राख्ने भन्नेबारे निकै विवाद देखिएको थियो। यसअघि काँग्रेस नेतृत्वको तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल तोकेको थियो।

प्रदेश सरकारले दाङको भालुवाङमा बनाउने निर्णय गरेसँगै प्रदेश ५ को स्थायी राजधानी र नामाकरण बारेको प्रस्ताव प्रदेशसभामा पेश हुँने छ।

प्रदेशसभाको दुई तिहाई वहुमतले प्रदेशको राजधानी र नामाकरणको अन्तिम निर्णय गर्ने संवैधानिक व्यवस्था छ।यसअघि बुटवल र दाङमध्ये कहाँ स्थायी राजधानी बनाउने भन्नेबारे चर्चा हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button