प्रदेश ५ को राजधानी बारे आज निर्णय हुँदै, दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

बुटवल । नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

मंगलबार(आज) बस्ने प्रदेश सभाको बैठकमा प्रदेशको नाम र राजधानीबारे मतदान हुँदैछ ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए ।

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको छ। नामबारे भने कांग्रेसको असहमति नरहेको कनौडियाले जनाए।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेशसभा बैठकमा स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरेका थिए । त्यसक्रममा नेपाली कांग्रेसका सांसदहरुले कर्सी र टेबल तोडफोड गरेका थिए ।

आज दिउँसो १२ बजे बस्ने प्रदेशसभा बैठकमा राजधानी र नामबारे मतदान गर्ने तयारी गरिएको संसद सचिवालय स्रोतले बताएको छ ।

प्रदेशसभामा ८७ जना सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ । त्यो मत सत्तारूढ नेकपासँग रहेको छ । नेकपाका ६१ सांसद छन् । ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ ।

प्रदेश राजधानी देउखुरीमा सार्ने निर्णयविरुद्ध सत्तारूढ नेकपाकै १४ सांसदले नोटअफ डिसेन्ट लेखेका थिए। तर पनि नेकपाले आफ्ना सांसदलाई प्रस्तावका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन् । पार्टीले ह्वीप जारी गरेको भएपनि आफूहरुले त्यसलाई नमान्ने कतिपय सांसदको भनाइ छ ।

प्रदेशसभामा जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । तर उनीहरु बुटवल वा दाङ भन्नेमा स्पष्ट भइसकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button