प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमुलक : परराष्ट्रमन्त्री खड्का

देउवा प्रधानमन्त्री नभइ कांग्रेस सभापतिको नाताले भाजपा मुख्यालय जानुभएको हो : मन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् ।

आइतबार साँझ तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएकपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलन खड्काले भ्रमणले मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भएको बताएका हुन् ।

“मैत्रीपूर्णल सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भयो,” खड्काले भने, “कोभिडका कारण उच्चस्तरीय भ्रमण भएका थिएनन्, यो भ्रमणले नेपालको छिमेकीसँगको बहुआयामिक सम्बन्ध प्रगाढ र नयाँ उचाइमा पुर्‍याउने कुरामा प्रधानमन्त्री जोड दिनुभएको छ ।”

परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीस्तरको सम्बन्ध बढाउन भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको बताएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा.खड्काले देउवा नेपालको प्रधानमन्त्री नभइ नेपाली कांग्रेसको सभापतिका नाताले भाजपा मुख्यालयमा गएको बताए ।

“नेपाली कांग्रेसले अन्य देशका विभिन्न पार्टीसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ । चीनको कम्युनिस्ट पार्टीसँग पनि कांग्रेसको राम्रो सम्बन्ध छ । भारतको कांग्रेस आईसँग राम्रो सम्बन्ध छ,” उनले भने,“अहिले भाजपा मुख्यालयमा उहाँ प्रधानमन्त्री भएर जानुभएको होइन नेपाली कांग्रेसको सभापति भएको नाताले जानुभएको हो ।”

भारत भ्रमणमा गएकै दिन गत शुक्रबार साँझ प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button