प्रधानमन्त्री आज दाङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदै छन् ।
राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् ।
राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए। प्रचण्डले शिलान्यास गरेको पुलको उद्घाटन वर्तमान प्रधानमन्त्री ओलीले गर्नेछन् ।
बिहान ११ बजे सिसहनियाँ–महदेवा जोड्ने पक्की पुलको उद्घाटन गर्ने र त्यसपश्चात लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख भूमिश्वर ढकालले जानकारी दिए ।
पार्टीभित्र देखिएको विवादकाबीचमा हुन लागेको जनसभालाई सफल पार्न जनपरिचालन गरिएको छ । जनसभामा ५० हजार नागरिक भेला पार्ने दाबी गरिएको छ ।