प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन्।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिनुको विकल्प नभएका बताएका थिए। उनले स्थायी समितिका सदस्यहरूको धारणा अनुसार बैठक बोलाउन समेत प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

‘प्रधानमन्त्रीले प्रचण्डसँग पनि मैले गलत नियत राखेर गरेको होइन, तपाईंहरूलाई त्यस्तो लाग्छ भने फिर्ता लिऔं भन्नुभयो’, स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले आजै राष्ट्रपतिलाई अध्यादेश खारेजीका लागि पत्र पठाउन सक्ने स्रोतले बतायो।

वैशाख ८ गते सरकारले ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने अध्यादेश जारी गरेको थियो।

त्यस्तै, संवैधानिक परिषदमा बहुमतले निर्णय लिन सक्ने प्रावधान सहितको अर्को अध्यादेश समेत जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button