प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

काठमाडौं । नयाँ नक्सा जारी भएपछि नेपाल भारतवीच कायम रहेको शीतयुद्धको स्थितिमा ब्रेक लागेको छ।
भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन्। प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरी ७४ औं स्वतन्त्रता दिवसको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
फोन संवादमा पारस्परिक हितका कुरा भएको जनाइएको छ। शनिबार दिउँसो ओली र मोदीबीच ११ मिनेटसम्म फोनमा कुराकानी भएको परराष्ट्र स्रोतले बतायो।
दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट मार्फत समेत जानकारी दिएका छन्।
यसअघि प्रधानमन्त्री ओलीले आजै बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि भारतीय प्रधानमन्त्री मोदी र त्यहाँका जनतालाई बधाई तथा शुभकामना दिएका थिए।
फोनमा अरु के के बिषयमा कुरा भयो भन्ने बारे थप खुलाइएको छैन। दुई देशबीच सीमाको विषयमा विवाद उत्पन्न भएपछि लामो समय प्रधानमन्त्री तहमा कुराकानी हुन सकेको थिएन।
भारतले नेपाली भूमि लिपुलेक–लिम्पियाधुरा जोड्ने सडक बनाएपछि प्रधानमन्त्री तहको सम्वाद भएको थिएन। नेपालले कूटनीतिक नोटमार्फत् आपत्ति जनाएपनि भारतले यसको जवाफ दिएन। पछि नेपालले उक्त भूमी समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो।
सो नक्साका कारण सम्बन्धमा तनाव उत्पन्न भएको थियो। तनावका बीच शनिवार दुई देशका प्रमुखबीच लामो टेलिफोन वार्ता भएपछि यसले औपचारिक रुपमा नै संवादहीनता तोडिएको छ।