बिप्लव नेतृत्वको युवा संगठनद्वारा प्रधानमन्त्री देउवाको मलामीसहित पुत्ला दहन

बाँके । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको लागि लिखित अनुमोदन गरेको भन्दै विप्लव नेतृत्वको युवा संगठन नेपाल बाँकेले शंख फुकेर पुत्ला दहन गरेको छ।
राष्ट्रघाती लिखित सम्झौतामा हस्ताक्षर गरेको पत्रप्रती आपत्ति जनाउँदै बिप्लव निकट युवा संगठनले शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र अमेरिकी राष्ट्रपति जो वाइडेनको पुत्ला दहन गरेको हो।
“(एमसिसी) ले नेपालको भौगोलिक अखण्डता र नेपाली जनताको हक अधिकार संकटमा पार्ने निश्चित छ, यदि नेपालमा एमसिसी लागू भयो भने नेपाल अफगानिस्तान, सिरिया जस्तै बन्नेछ । यदि एमसिसी खारेज नभएको खण्डमा हामी थप आन्दोलन गर्न बाध्य हुनेछौँ, संगठनका केन्द्रिय सदस्य बिष्णु जि.सी.ले बताए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको खुलेको छ ।