प्रधानमन्त्री र सभामुखबीच संसद् बर्खे अधिवेशनका सम्बन्धमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिएका छन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उनले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम हुने गरी तयार गर्न लागिएको सिट व्यवस्थापन अवलोकन गरी जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीसँग अवलोकनमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फे थिए ।

यसैबीच, प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच आगामी सङ्घीय संसद्को बर्खे अधिवेशन आह्वानसँग केन्द्रित रहेर छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएका छलफलमा उहाँहरुबीच आगामी अधिवेशन आह्वानलगायत विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए ।

नेपालको संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार प्रदान गरेको छ ।

राष्ट्रपतिबाट यस अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ । नेपाल सरकारका अर्थमन्त्रीले हरेक आवका लागि राजश्व र व्ययको अनुमान (बजेट) प्रत्येक वर्ष जेठको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

बजेट प्रस्तुत गर्नु १५ दिनअघि प्रि–बजेट छलफलका लागि संसद्को बैठक बस्नुपर्ने कानूनी व्यवस्था छ । बजेटअघि नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ । बर्खे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button