प्रहरीद्वारा युवकको हत्यामा आरोपी वडाध्यक्षसहित ४ जना सार्वजनिक

बझाङ प्रहरीले युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई सार्वजनिक गरेको हो। उनीहरुलाई मंगलबार छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो।

छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो। खुँडा प्रहार गरेर सिंहको हत्या गरिएको प्रहरीले जनाएको छ।

सिंहको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि उनलाई समेत पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए।

कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरि उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।

हत्या गरिएका युवक सिंह तरुण दलका छबिसपाथिभेरा गाउँपालिकाका स्थानीय नेता हुन्। उनको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै तरुण दल बझाङले बुधबार धनगढी र बझाङमा प्रर्दशन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button