प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा । नेपाल प्रहरीको टोली र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताबीच संखुवासभामा गोली हानाहान भएको छ ।
संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले आइतबार दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको बताएका छन् । तर, दोहोरो भिडन्तमा कुनै क्षति भए नभएको विवरण भने आएको छैन ।
विप्लव समूहका जिल्ला ईञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले सर्च अपरेशन चलाएको थियो ।
सर्च अपरेशनका लागि गस्तीमा गएको प्रहरीलाई आक्रमण भएपछि गोली चलाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
विप्लव समूहका कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ ।
प्रहरीमाथि गोली चलाए पछि विप्लव समूहका कार्यकर्ता जंगलतर्फ भागेका छन् । प्रहरीले उनीहरुले बोकेको विस्फोटक सामग्री बरामद गरिएको जानकारी दिएको छ ।
यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र विप्लव समूहका कार्यकर्ताबीच झडप भएको थियो ।
तस्वीर– प्रतिकात्मक