प्रेस संगठनको प्रदेश भेला स्थगित

काठमाडौं – समाजवादी प्रेस सङ्गठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ। पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो।

आगामी फागुन ७ गते काठमाडौँमा सम्मेलनको तयारी गरेकामा माघ महिनाभित्रमा प्रदेश भेला सम्पन्न गर्ने कार्यक्रमको मिति तय भएको थियो।

राष्ट्रिय सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा अन्तिम चरणमा छ। मस्यौदा निर्माणपछि सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापकरूपमा छलफल गरिने छ।

देशभर रहेका मातहतका सङ्गठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि पठाइने छ। त्यसको विस्तृत छलफल तथा अध्ययनपछि प्राप्त हुने सुझावलाई समेटेर मस्यौदामा समावेश गरिने छ।

सङ्गठनका महासचिव भुपराज खडकाको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले विधान निर्माण कार्य गरिरहेको छ। सङ्गठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको छ। सम्मेलन तयारी समितिसमेत गठन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button