बाजुरामा एकै परिवारका ५ जना सदस्य ४ दिनदेखि बेपत्ता

मार्तडी । बाजुरामा चार दिन अगाडि नदीमा नुहाउन गएको बेला बेपत्ता भएका एकै परिवारका ५ जना सदस्यको अवस्था अझै अज्ञात छ ।

बाजुराको हिमाली गाउँपालिका–५ स्थित कवाडी बजारमा बस्दै आएका धर्म नेपालीकी श्रीमती र छोराछोरी गरी ५ जना शुक्रबार बेपत्ता भएका थिए ।

उनीहरुको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

बेपत्ता हुनेमा धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली, ५ वर्षीया छोरी आरती, ४ वर्षकी छोरी सन्तोषी, २ वर्षका छोरा सम्मान र १ वर्षीया छोरी किस्मती रहेका छन् ।

रुगीन गाउँमा घर भएर कवाडी बजारमा बस्दै आएका उनीहरु शुक्रबार कवाडी नदीमा नुहाउन गएका जनाइएको छ ।

तर, बेपत्ता सत्ताकी सासुले प्रहरीलाई दिएको बयानअनुसार शुक्रबार बिहान सत्ता र उनका पति धर्मबीच सामान्य खटपट भएको थियो ।

धर्म शुक्रबार बिहानै गाउँमा खलो (अनाज) माग्न गएका थिए । खलो मागेर फर्किदासम्म खाना नपाएको विषयमा धर्म र सत्ताबीच सामान्य खटपट भएको आफूले देखेको धर्मकी आमाले प्रहरीलाई बताएकी छन् ।

दुवैबीच खटपट भएपछि बुहारी सत्ता छोरा–छोरीलाई बोकेर नदीतिर गएको आफूले देखेको सासुले बताएकी छन् । सोही विषयमा अनुसन्धान गर्न प्रहरीले धर्मलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सत्ता र उनीहरु गएको भनिएको कवाडी नदीको क्षेत्र कर्णाली नदी नजिकै पर्छ । त्यहाँभन्दा २०० मिटर तलमात्रै दुवै नदीको संगमस्थल छ ।

पतिसँगको झगडापछि सत्ताले बच्चाबच्चीसहित नदीमा हाम फालेको हुनसक्ने प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button