बाजुरामा विस्तार हुन थाल्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत

मार्तडी । बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै सञ्चालनमा ल्याइएको छ ।

सोही नगरपालिका–३ साविकको ब्रह्मतोला गाउँ विकास समिति–७ बाहुनबाडा, सेरालाबाडा र बसालीमा विद्युत् लाइन विस्तार गरिएको हो ।

जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यसहित पहिलोपटक बूढीगङ्गाको बाहुनबाडा गाउँबाट विद्युत् सेवा सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र शाखा बाजुराका कार्यालय प्रमुख महेशचन्द्र भट्टले बताए ।

लाइन विस्तारसँगै बूढीगङ्गा नगरपालिका–३ का ५२ परिवारले विद्युत् सेवा उपयोग गर्न पाएको वडाध्यक्ष खडक अधिकारीले बताए ।

साविक ब्रह्मतोला गाविस र हालको बूढीगङ्गा नगरपालिकाको १, २ र ३ नम्बर वडामा बिजुली विस्तार गर्ने योजनासहित प्रसारण लाइन जडान गरिएको हो ।

बसालीका स्थानीयवासी पहिलोपटक विद्युत् सेवा उपयोग गर्न पाउँदा खुशी भएका छन् । वर्षौँदेखिको सपना पूरा भएको र अँध्यारोबाट उज्यालो युग शुरु भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

वडामा पर्ने अझै १४ बस्तीमध्ये दुई बस्तीमा मात्र विद्युत् विस्तार भएकाले तत्काल अरु बस्तीमा पनि लाइन विस्तार हुनुपर्ने वडासदस्य कल्लाने दमाइको माग थियो ।

लाइन जडान गरिए पनि ट्रान्सफर्मर आएलगत्तै अन्य बस्तीमा पनि विद्युत् विस्तार हुने प्राधिकरणले वितरण शाखा बाजुराका सूचना अधिकारी शङ्कर स्वारले बताए ।

स्थानीय लघुजलविद्युत् उत्पादन गरेर बिजुली सेवा सञ्चालनमा रहे पनि विद्युत् प्राधिकरणले भने बसालीबाटै लाइन विस्तार शुरु गरेको हो ।

दुई वर्ष पहिले नै जडान गर्ने लक्ष्य राखिए पनि केही प्राविधिक पक्ष र कोरोनाका कारण ढिलो भएको बताइएको छ । जिल्लामा अझै आधाभन्दा बढी जनसङ्ख्या विद्युत्को उज्यालोबाट वञ्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button