बाढी पहिरो पीडितलाई खाद्यन्न सामग्री सहयोग

सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोका कारण विस्थापित बाह्रविसे नगरपालिका वडा नं. ७ घुम्थाङका ८० धरपरिवारलाई खाद्यन्न सामग्री वितरण गरिएको छ ।
सिन्धु इसाई केन्द्रको समन्वयमा समारिटन पर्स यूएसएको विशेष सहयोगार्थमा नेपाल ख्रीष्टिय राहत सेवा, नेपाल ख्रीष्टियन समाज, नेपाल बप्तिष मण्डली परिषद्, एन.सि.पि.एम. को समेत सहयोगमा बिहिवार राहत सहयोग वितरण गरिएको हो ।
बाढीपहिरोबाट विस्थापित भिरखर्कका ५०, नागपुचेका ८ र भिरथाप्लोका २२ घरपरिवारलाई बाह्रविसे नगरपालिका उपमेयर सुशिला पाख्रीन, सहयोगी संस्थाका प्रतिनिधि सहितले सहयोग वितरण गर्नुभयो । सहयोग पाएपछि बाह्रविसे भिरखर्कका विस्थापति अमृत प्रधानले थप सहयोगका लागि आग्रह गर्नुभएको छ ।
सहयोगी संस्था नेपाल ख्रीष्टिय राहत सेवाले विपद्मा आशा र पुर्नस्थापना भन्ने मुख्य लक्ष्यका साथ बाढीपहिरोबाट प्रभावितहरुको जीवनमा थोरै भएपनि आशा र खुशी ल्याउने संकल्पले राहत वितरण गरिएको बताउनुभयो ।
संस्थाले पछिल्लो समय बाढीपहिरोबाट विस्थापित धेरै जिल्लाहरुमा राहत सहायता पु-याउने काम गर्नुका साथै कोभिड-१९ ले गर्दा निकै समस्यामा परेका अति अशक्त, असहाय, विपन्न परिवार, आर्थिक अवस्था नाजुक भएका दैनिक ज्यालादारी तथा निर्माण मजदुरहरु अग्रभागमा रही सूचना प्रवाह गर्नुहुने पत्रकार लगायतका धेरै व्यक्ति तथा परिवारहरुलाई सहायता पु-याएको जानकारी दिनुभयो ।