बानेश्वरमा डाक्टरहरुलाई घर छाड्न टोलवासीको चेतावनी

शनिवार बिहानै मिलनचोकका स्थानीयले होस्टेल सञ्चालकलाई गाली गलौज गर्नुका साथै स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन्।
स्वास्थ्यकर्मीलाई उक्त घरमा राखेका कारण ५०/६० जनाको टोली आएर हुलदंगा गर्न खोजेको तथा आफूलाई धम्क्याएको होस्टेल सञ्चालक रोहित रानाले जनाएका छन्।
सञ्चालक रानाका अनुसार खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मी बसेका थिए। त्यसका लागि सिभिल अस्पतालले होस्टल सञ्चालक रानासँग सहमति गरेको थियो।
स्थानीयको पछिल्लो गाली गलौज तथा धक्कीका कारण राना मानसिक तनावमा छन्।
स्वास्थ्यकर्मी प्रतिको यस्तो व्यवहारको चौतर्फी विरोध भइरहेको छ। स्वास्थ्यकर्मीबाट आफूलाई कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुर्व्यवहारको घटना हुँदै आएको छ।
सरकारले उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई घरबाट ननिकाल्न, दुर्व्यवहार नगर्न आग्रह गर्दै आएपनि स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार रोकिएको छैन।