बालुवाटार बैठकमा प्रचण्डले भने-‘एमसिसीलाई पत्र लेखेको हो’

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका छन्।
आइतबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री देउवासँग मिलेर एमसिसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका हुन्।
सत्तापक्षले एमसिसी मुख्यालयमा केही समय पर्खन अनुरोध गर्दै पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो। सत्तापक्षले पत्रबारे गुपचुप राख्न खोजे पनि पत्र बाहिरिएको थियो। गोप्यरुपमा पत्र पठाएको भन्दै पत्रबारे आलोचना भइरहँदा प्रचण्डले त्यसलाई स्वीकार गरेका हुन्।
आइतबार बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रचण्डले आफूले पत्र लेखेको छैन भनेर नभनेको स्वीकार गरेको बताए।
एमसिसीमा सहयोग गर्न प्रधानमन्त्री देउवाले एमालेलाई आग्रह गरेका थिए भने प्रचण्डले राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्न एमालेलाई आग्रह गरेका थिए। संवेदनशील मामिलामा सत्ता गठबन्धनको एउटै दृष्टिकोण हुनुपर्ने कुरा एमालेले राखेको महासचिव पोखरेलले बताए।