बुद्ध दर्शनलाई आत्मसात् गरे मात्र विश्वमा दिगो शान्ति हुन्छ : राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छन्।

आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गरेर अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताइन्।

उनले नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताको सन्देश विश्वभर फैलाएकोमा सम्पूर्ण नेपालीले गर्वको अनुभूति गरेको पनि उल्लेख गरिन्।

नेपालीहरु आपसमा सद्‌भाव साथ मिलीजुली बसी विश्व समुदायलाई नै अंहिसा र शान्तिको सन्देश दिइरहेको उनको भनाइ छ।

राष्ट्रपति भण्डारीले लुम्बिनीलाई बुद्ध संस्कृतिसँग जोडिएको आकर्षक र मौलिक पूर्वाधारको विकास गरी पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिइन्।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न बनाउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्। साथै, लुम्बिनीमा खानेपानी, बिजुली, ढल निकास लगायतको विषयमा सम्बन्धित निकायले ध्यान पुर्‍याइ उत्कृष्ट बस्ती बनाउनुपर्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button