बैतडीः इन्सपेक्टरसहित ५ प्रहरीमा कोरोना पुष्टि

बलदेव सिंह नायक, बैतडी / प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत ५ प्रहरीमा कोरोना पुष्टि भएको छ ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कोरोना पुष्टि हुनेमा एकजना प्रहरी निरीक्षक, एकजना प्रहरी नायव निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एकजना हवल्दार र एकजना जवान रहेका छन् । संक्रमण पुष्टि भएका सबै हाल क्वारेन्टाइनमा रहेका र आइसोलेट गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक अधिकारीले भन्नुभयो “संक्रमण पुष्टि हुने प्रहरी निरीक्षक कैलालीबाट सरुवा भएर आएका हुन्, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक काठमाडौंबाट सरुवा भएर आएका हुन् भने हवल्दार र जवान बिदामा कञ्चनपुरबाट फर्केका हुन् ” संक्रमण पुष्टि हुने उनीहरुलाई स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँचजनामा कोरोना पुष्टि भएपछि कार्यालयको काम प्रभावित भएको बताईएको छ ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक जवानमा संक्रमण पुष्टि भएको थियो । ती जवान भने डिस्चार्ज भइसकेका छन् ।

हाल पनि शंका लागेका, बिदाबाट फर्किएका, सरुवा भएर आएकाहरुको कोरोना परीक्षण गरिदैं जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button