बैतडीः पच्चीस वर्षपछि पाटन विमानस्थलमा बिहीबारदेखि नियमित हवाई उडान हुँदै

बलदेव सिंह नायक, बैतडी । बैैैतडी पाटन विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ । धनगढीलाई बेस बनाएर पाटनमा बिहीबार नियमित उडान हुने भएको हो ।
नियमित उडान यही असोज २९ गतेदेखि सुचारु हुने बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
हप्ताको १ दिन बिहीबार समिट एयरले उडान भर्ने भण्डारीले बताउनुभयो । धनगढीबाट बिहान साढे ११:३० बजे पाटनका लागि उडान भर्ने बतार्ईएको छ ।
१७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
धनगढी–पाटनको भाडादर भने ३ हजार ८०२ रुपैंया तोकिएको छ । नियमित हवाई उडान हुने भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा भने समस्या हुने देखिएको छ ।
तत्कालका लागि पाटन नगरपालिकासंग समन्वय गरेर यात्रु प्रतिक्षालय स्थापना गरेर एकजना कर्मचारी राख्ने तयारी भएको
र टर्मिनल भवन तथा टावर छिट्टै निर्माण हुने र यात्रु बढ्दै गएपछि दैनिक उडान हुने स्वकीय सचिव भण्डारीले बताउनुभयो ।
बैतडी जिल्लाबाट धनगढी पुग्न दिनभरि लाग्ने बाटोमा अब १७ मिनेट मात्र समय लाग्ने भएपछि बैतडी बासीहरु धेरै खुसी र उत्साहित भएका छन् ।
गत असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो ।
परीक्षण उडानसंगै पुर्वअर्थराज्य मन्त्री दामोदर भण्डारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसहितको टोलीले विमानस्थलको समेत निरीक्षण समेत गर्नुभएको थियो ।