बैतडीको सिमार प्रहरीचौकीमा कार्यरत सबै प्रहरीमा कोरोना संक्रमण

बलदेब सिंह नायक, बैतडी । बैतडीमा एक प्रहरीचौकीमा कार्यरत सबै ९ जना प्रहरी र थप एक अर्को जना गरी १० जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको डिलाशैनी गाउँपालिका-३ स्थित सिमार प्रहरीचौकीमा कार्यरत ९ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।
प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक सहित ९ जनामै कोरोना कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीचौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको उहाँले बताउनुभयो ।
यस्तै कोरोना पुष्टि भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको छ । यस्तै शुक्रबार नै डिलाशैनी ३ का एक ३० बर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ५३३ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या भने ३८ रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १८, डिलाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा ४ र सुर्नया, पञ्चेश्वर र दोगडाकेदारमा १/१ जना रहेका छन् ।