बोलेरो जीप दुर्घटना: ४ जनाको मृत्यु, एक बालकसहित ७ घाइते

हुम्ला । बोलेरो जीप दुर्घटनामा परी हुम्लाको सिमकोट गाउपाँलिका-७ डाडाफयामा चारजनाको मृत्यु भएको छ, भने सातजना घाइते भएका छन् ।
गएको शुक्रबार राती लु २ च २१०२ नम्वरको बलेरो जीप हेप्काखोलाबाट बिरामी लिएर सिमकोट आउनेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक सिताराम बिष्टले दुर्घटनामा परि मृत्यु हुनेमा एक महिला र तीनजना पुरुषको मृत्यु भएको बताए । मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ ।
दुर्घटनामा परी एक बालकसतित सात जना घाइते भएका छन् । बिष्टका अनुसार घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सिकी कल्पना सिंह, सिमकोट ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका वडा १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।
घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
बलेरो जीप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । दुर्घटनाको बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।