भदाैमा बढाए बैंकहरूले १४ अर्ब कर्जा

बैंकर्स भन्छन्–केही मात्रामा डिमान्ड कर्जा लगानी भए पनि नयाँ कर्जाकाे माग छैन

काठमाडाैं । काेभिड १९ कारण मुलुककाे अधिकांस क्षेत्रमा जारी निषेधाज्ञामा पनि बैंकहरूले कर्जा सामान्य विस्तार भएकाे छ । भदाै ३ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाे छ भने उपत्यका बाहिरका पनि अधिकांस व्यापारिक औद्योगिक सहरमा निषेधाज्ञा जारी रहेकाे छ ।

तर यस्ताे अवस्थामा पनि वाणिज्य बैंकले भदाै पहिलाे र दाेस्राे सातामा कर्जा लगानी बढाउन सफल भएका छन् ।

नेपाल बैकर्स संघले उपलब्ध गराएकाे तथ्याङकअनुसार साउन ३० गतेबाट भदाै १२ गते शुक्रबारसम्म वाणिज्य बैंकहरूकाे कुल कर्जा लगानी १४ अर्बले बढेकाे छ । साेही अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप भने ६ अर्बले बढेकाे छ ।

साउन ३० गते वाणिज्य बैंकहरूकाे कुल कर्जा लगानी २८ खर्ब ७८ अर्ब रहेकाेमा भदाै ५ गते बढेर २८ खर्ब ८६ अर्ब पुगेकाे थियाे । भदाै दाेस्राे साता १२ गते शुक्रबार आउँदा बैंकहरूकाे कर्जा लगानी थप ६ अर्बले बढेर २८ खर्ब ९२ अर्ब पुगेकाे छ । यस्तै साउन ३० गते ३४ खर्ब ७९ अर्ब रहेकाे निक्षेप भदाै १२ गते ३४ खर्ब ८५ अर्ब पुगेकाे छ । यस अवधिमा वाणिज्य बैंककाे नेपाली मुद्राकाे निक्षेप १० अर्बले वृद्धि हुँदा विदेशी मुद्राकाे निक्षेप भने ३ अर्बले घटेकाे छ ।

बैंकहरूले स्वदेशी मुद्राकाे निक्षेप ३३ खर्ब ६७ अर्बबाट बढाएर ३३ खर्ब ७७ अर्ब पुर्याएका छन् । यस्तै विदेशी मुद्राकाे निक्षेप भने १ खर्ब १२ अर्बबाट एक खर्ब ९ अर्बमा झरेको छ।

बैंकर भन्छन्–विगतकाे तुलनमा कर्जाकाे इन्क्वाइरी नगन्य

यता बैंकरहरू भने कर्जाकाे लागि साेधपुछ नगन्य मात्रै भएकाे बताउँछन् । विगतका वर्षहरूमा आर्थिक वर्षकाे पहिलाे त्रैमासमा सातामा नै ४०/५० अर्बसम्म कर्जा लगानी हुने गरेकाेमा यो वर्ष कर्जाकाे माग नै नभएकाे माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्ताेष काेइराला बताउँछन् ।

“चाडपर्व आउन लागेकाेले केही मात्रामा आयातकाे लागि एलसी तथा डिमाण्ड लाेनहरू गएका छन् भने केही बैंकमा कर्पाेरेट ग्राहकले चालुपुँजी कर्जा लगानी गरेका हाेलान् तर नयाँ कर्जाकाे माग छैन,” उनले भने ,” अहिले समग्र वित्तीय क्षेत्रमा कर्जाकाे माग बढेको छैन तर एउटा बैंककाे बढ्दा अर्काे बैंकको घट्न अथवा कर्जा तानातानकाेअवस्था मात्रै हाे ।”

यता बैंकरहरू असार मसान्तमा असुल हुन नसकेको कर्जा पनि अवस्था सहज भएसँगै केही असुल हुने अवस्था देखिएकाे तर अहिले जारी निषेधाज्ञाले कर्जा रिकभरीमा समेत समस्या बढ्दै गएकाे बताउँछन्। नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यमारी अधिकृत भुवन दाहाल अहिले कर्जा रिकभरीको लागि ताकेता गर्ने अवस्था नै नभएकाे बताउँछन् ।
“अधिकांश ठाउँमा निषेधाज्ञा छ, उद्योग व्यवसाय ठप्प छ यस्ताे अवस्थामा ग्राहकलाई कसरी कर्जा तिर्न आउ भन्ने,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button