भरतपुर २९ मा पहाड अवैध उत्खनन्, स्थानीय सरकार र प्रहरी प्रशासन मौन

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ बाट अवैधरुपमा पहाड खनेर ढुँगामाटो निकासी गर्ने गरेको पाइएको छ ।
कविलासस्थित व्यक्तिको नाममा रहेको र केही सार्वजनिक जग्गाबाट जथाभावी पहाड तथा नदी उत्खनन् गदै ढुँगामाटो निकासा गरिएका छन् ।

भरतपुर महानगरपालिका र चितवन प्रशासनको मौन स्वीकृतीमा अवैध निकासी भइरहेको स्थानीयले गुनासो गर्दै आएका छन् । उक्त क्षेत्रबाट ठूलो परिमाणमा ढुँगामाटो निकालिएको छ । रातको समयमा ट्रयाक्टर र टिपरको प्रयोग गरी भरतपुरका विभिन्न वडामा ढुँगामाटो लगिएको एक स्थानीयले रातोपाटी न्यूजलाई बताउनुभयो ।

उनले भरतपुरको प्रचण्डपथका लागि भन्दै यसअघि ढुंगामाटो निकासा गरिएको बताए । भरतपुर महानगरपालिका र वडा नम्बर २९ ले सो क्षेत्रबाट ढुंगामाटो चोरी भएको कुरा साँचो हो भनेका छन् । चोरीमात्र होइन ती स्थानमा नचाहिने ठाउँमा पनि सडक खोलेर अवैध उत्खनन् समेत गरिएको तथ्य भेटिन्छ ।

भरतपुर महानगरले भरतपुर २९ का कुनै पनि स्थानमा उत्खननका लागि स्वीकृति नदिएको जनाएका छन् । भरतपुर महागरपालिकाका प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले माटो निकासाका लागि वातावरणीय प्रभाव मूल्याङ्ककन (इआइए) गर्न फाइलहरु महानगरमा आएका भए पनि कसैलाई पनि स्वीकृती नदिएको जानकारी दिनुभयो । व्यक्तिका नाममा रहेका विभिन्न स्थानमा उत्खननका लागि थुप्रै फाइल आएको भए पनि महानगरको कार्यपालिकाले एक स्थानमा मात्र इआइए पास गरेको बताउँदै उनले स्वीकृत भने हालसम्म कसैलाई नदिइएको बताए ।

एक ठाउँमा जग्गा सम्याउनका लागिमात्र भनेर इआइए गरिएको भए ता पनि स्वीकृत भने नदिइएको महानगरको दाबी छ । तर भरतपुर २९ का विभिन्न स्थानमा जथाभावी उत्खनन् भने भइरहेको छ । यसबारेमा सोध्दा प्रशासकीय अधिकृत सुवेदीले यसो भए चोरी भएको बताए । उनले ती स्थानबाट अवैध उत्खनन् गर्ने ५ वटा ट्रक र एउटा डोजरलाई नियन्त्रणमा लिएर कारबाही गरेको समेत जनाए ।
प्रहरीलाई पनि कारबाहीका लागि धेरै पटक आग्रह गरिएको उनको भनाइ रहेको छ ।

उनले भने ‘त्यति हुँदाहुँदै पनि रातको समयमा कतिबेला कहिले चोर्छन् । थाहै हुँदैन । चोरलाई कसै गरे पनि रोक्न नसकिने रहेछ । उनले भने, ‘सकेसम्म रोकिरहेका छौं ।’

भरतपुर महानगरका वातावरण शाखाका प्रमुख विराट घिमिरेले चारी कार्य नियन्त्रण गर्ने जिम्मा प्रहरीको भएको जानकारी दिए । महानगरले उत्खनन्बारे औपचारिक निर्णय नगरेको उनले बताए । प्रहरी प्रशासनले यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (एसपी) ओम अधिकारीले आफूहरुलाई यसबारेमा जानकारी नभएको बताउनुभयो । उहाँले भने ‘जोसँग स्वीकृती दिने अधिकार छ रोक्ने अधिकार पनि उसैसँग हुन्छ ।

महानगरसँग म्यान पावर भएन भने हामी सक्रिय हुने हो । उहाँहरुले अवैध उत्खनन् भएको भए त्यसलाई रोक्नका लागि हामीलाई भन्नुपर्यौ ।’ ‘अवैध उत्खनन् भनेको यो एकपटक चोरेर फुत्त लाने कुरा होइन । आज उत्खनन् गरेको छ भने भोलिपल्ट खाल्टो हुन्छ । सोहि खाल्डो वडाध्यक्षले पनि देख्नुहुन्छ । अनि उहाँले अवैध उत्खनन् भयो भनी जानकारी गराउनुहुन्छ । अनि बल्ल हामी गएर रोक्छौं । कुनै अवैध कुन वैध भन्ने कुरा उहाँहरुले छुट्याउनु पर्ने थियो । अहिलेसम्म त्यहाँको वडा र महानगरबाट हामीलाई केही जानकारी आएको छैन ।’ त्यहाँको उत्खनन् अवैध गर्दै गर्दा वडा र महानगरले भनेपछि आफूहरु एक्सनमा आइहाल्ने बताउँदै उनले सुरुवाती जिम्मेवारी स्थानीय निकायको नै रहने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका २९ का वडाध्यक्ष मनबहादुर मगरलाई उक्त घटनाबारेमा सोध्दा उहाँले भने, ‘उत्खनन भैराछ भन्नेकी भएन भन्ने । चोरले रातारात गर्छन् थाहै पत्तै पाइँदैन ।’ दिउँसो देखेपछि थाहा भएन् भन्ने प्रश्नमा उहाँको जवाफ थियो, ‘हामीले जानकारी गराउने महानगर र प्रहरीलाई हो ।

महानगरले पनि हेर्दैन । प्रहरीले पनि वास्ता गर्दैन । कसो गर्ने, उहाँले यो उत्खनन्का बारेमा प्रहरीलाई जानकारी नभए पनि बाटोमा बस्ने प्रहरीले उक्त गाडीको चेक गर्नुपर्ने बताउनुभयो । ‘प्रहरीले बाटोमा रोकेर कागजपत्र जाँच गर्नुपर्दैन’ उनले प्रश्न गर्दै भने ‘म एकपटक दुई वटा गाडीमा माटो लोड भएको देखेर पछिपछि गएँ । जुगेडीमा चेक भएको छैन । रामनगरमा छैन । आँपटारीमा पनि भएन । अब कसैले ख्यालै गर्दैन । हाम्रो केही लाग्दैन क्या चोरसँग । चोरसँग सँगसँगै लड्न जान सकिदैन् ।

हामीले जानकारी गराउँदा कसैले पनि त्यसलाई फलो गर्दैनन् । हामीले भन्नेमात्रै हो । ट्रकको पछिपछि लागेर कतै प्रहरीले रोक्छ की नाइ भनेर हेर्दै हिँड्ने अनि नरोकेपछि चुप लागेर बस्ने, प्रहरी कार्यालयसम्म पनि पुग्न नसक्ने जनप्रतिनिधिले दिएको जवाफबाटै उनको नियतमाथि प्रश्न गर्न सक्ने थुप्रै आधार भेटिन्छन् ।

चोरी भएको थाहा पाइरहँदा पनि कुनै कदम नचाली बस्ने भरतपुर महानगर अवैध उत्खनन् नियन्त्रणमा असफल भएको देखिन्छ । उत्खनन् गर्न स्वीकृत दिने अधिकार भएको महानगरसँग नै अवैधरुपमा भइरहेको उत्खनन् रोक्ने अधिकार हुन्छ । तर नगर प्रहरीले रोक्न नसके नेपाल प्रहरीको सहयोगमा भए पनि पहाड उत्खनन् गरी गरिएको चोरी निकासी नियन्त्रण गर्नुपर्छ । खुलेआम चोरी हुँदा पनि महानगरले कुनै कदम नचाल्नु लज्जास्पद विषय छ ।

महानगरको मौनताले यस कार्यमा महानगरकै संलग्नता भएको पुष्टि हुन्छ । महानगरका कर्मचारी र केही पार्टीका कार्यकर्ता अवैध उत्खनन् र निकासीमा संलग्न भैरहेको स्रोतले जनाएको छ ।

स्थानीय केशव गुरुङ्गले गतवर्ष महानगरबाट स्वीकृत लिएर ४२ सय घनमिटर ढुंगामाटो निकालिएको बताए । उनले यसवर्ष पनि निकाल्नका लागि महानगरसँग अनुमति मागेको बताउँदै पत्र आएपछि काम गर्ने बताएका छन् ।

उनले महानगरलाई १५ लाख ७० हजार रुपैयाँ राजस्व बुझाइसकेको बताउँदै महानगरबाट कागज आएपछि थप निकासीको काम गर्ने जानकारी दिनुभयो । साथै उत्खनन्का लागि महानगरपालिकाको बोर्ड बैठकले समेत निर्णय गरिसकेको उनले जनाएका छन् । तर भरतपुर महानगरपालिकाले भने कुनै औपचारिक निर्णय नभएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button