भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन, नेपालले दियो २३१ रनको लक्ष्य

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतविरुद्ध सम्मानजनक प्रदर्शन गरेको छ । श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो ।
१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए ।
अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए ।
सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे ।