आगामी चुनावबाट ओली पक्षको हैसियत समाप्त हुन्छः मन्त्री खतिवडा

मकवानपुर । नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे आफ्नो पार्टीले सचेततापुर्वक निर्णय गरेको बताउनुभएको छ ।

मकवानपुरको भिमफेदी गाँउपालिका स्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री खतिवडाले एमसिसीको पासो थापेर एमाले अध्यक्ष केपी ओलीले गठवन्धन टुटाउन प्रयास गरेपनि नेताहरुको सचेततापुर्ण निर्णयले सो प्रयास सफल हुन नदिएको टिप्पणी गर्नुभयो ।

‘ओलीले एमसीसी जस्ताको तस्तै पारित गर्न खोजेका थिए, हाम्रो पार्टीको अडानले पर्याप्त ढंगले देशको पक्षमा संशोधन भएको छ, जसलाई अमेरिकाले स्विकार समेत गरिसकेको छ ।’मन्त्री खतिवडाले भन्नुभयो, ‘त्यसैले ओलिका छोराछोरीहरुले जत्ति नै स्याल हुँइया मच्चाए पनि त्यो धेरै दिन नटिक्ने र आगामी स्थानीय चुनाव पछि उनीहरुको हैसियत प्रष्टिने छ ।’

मन्त्री खतिवडाले निशुल्क पाइने खोप बेचिएको भनेर आफ्नाविरुद्ध दुश्प्रचार गरिएपनि त्यो गलत भएको र छानविनले समेत गलत सावित गरिसकेको दावी गर्नुभयो । ‘बरु ओली सरकारको पालमा स्वास्थ्य क्षेत्रमा ठुलो ओम्नी घोटाला प्रकरण भएको र त्यो विषयलाई अख्तियारले छानविन गरिरहेको भन्दै दोषीहरुलाई कारवाही गर्नुपर्नेमा आफु प्रतिवद्ध रहेको स्पष्ट गर्नुभयो ।

उहाँले परिपक्व मान्छेलाई नभई आलाकाँचा ठेट्नाहरुलाई जनप्रतिनिधी बनाएकाले अहिले भिमफेदीवाशीले पश्चाताप गरिरहेको भन्दै आगामी स्थानीय चुनावबाट तिनको हैसियत जनताले नै समाप्त पारिदिने दावी गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय निर्वाचन आयेगका सदस्य रामचन्द्र बलले अब एमाले भन्ने पाटी सकिँदै जाने र आगामी स्थानीय चुनावपछि बत्ति बालेर खोज्नुपर्ने अवस्था आउने टिप्पणी गर्नुभयो । एमसीसीको मामलामा पार्टीले परिपक्व निर्णय गरेर गठवन्धन जोगाएको उहाँको दावी थियो ।

गाँउपालिका जनप्रतिनिधीको माला पहिरिएर समाजसेवा भन्दै भ्रष्टाचारमा संलग्नहरुलाई आँउदो चुनावमा स्थानीयले पाखा पारिदिनुपर्ने उहाको आग्रह थियो ।

कार्यक्रममा जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णु दाहाल, जिल्ला सचिवालय सदस्य तथा स्वास्थ्य मन्त्रीका प्रमुख स्वकीय सचिव माधव तिमल्सीना, जिल्ला सचिवालय सदस्य तथा भिमफेदी इन्चार्ज शिवहरी बर्तौला लगायतको सहभागिता थियो । सुनिल गोलेले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता पालिका कमिटी अध्यक्ष समिर श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button