भूकम्पमा पूर्ण रुपमा भत्किएको ऐतिहासिक मदः फल्चाको पुनर्निर्माण

ललितपुर । २०७२ सालको भूकम्पमा पूर्ण रुपमा भत्किएको पुच्व पुस्तकालय समेत रहेको ऐतिहासिक मदः फल्चा ( पाटी) पुनर्निर्माण गरिएको छ । पुल्चोकमा रहेको यो फल्चाको पुनर्निर्माण प्रारम्भ नेपालले शुरु गरेको हो । प्रारम्भ नेपालले काम थालेपछि ललितपुर महानगरपालिका, साविक दाता कर्ममाया महर्जन लगायतले पुनर्निर्माणको लागि सहयोग गरेका थिए ।
पुस्तकालय तथा फल्चा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यो फल्चा र पुस्तकालय ऐतिहासिक भएको बताए । पुच्व पुस्तकालयको स्थापना साथीहरुको सहयोगमा आफूले स्थापना गरेको स्मरण गर्दै फल्चा निर्माणको काम २०३६ सालबाट सुरु भएको जानकारी दिए ।
फल्चा निर्माणको लागि चन्दा संकलन गर्दा त्यतिबेला कर्ममाया महर्जनले १० हजार चन्दा दिएको स्मरण गरे । उनले भने,‘त्यो बेला पैसा धेरै महंगो थियो, धेरैले २५ पैसा चन्दा दिनु भएको थियो, त्यो बेला नै कर्ममायाले तिमीलहरुले गरेको काम राम्रो छ, भन्दै १० हजार दिनुभएको थियो ।’
नगरप्रमुख महर्जनले फल्चा निर्माण गर्दा डोरबहादुर पाण्डेको सहयोगलाई समेत स्मरण गरे । पुच्व पुस्तकालय ललितपुरको प्रसिद्ध पुस्तकालय भएको बताए । उनले समय अनुसार यो पुस्तालयकालाई प्रविधिसँग जोड्नुपर्ने धारणा राखे। ४१ लाखमा निर्माण सम्पन्न भएकोे पुस्तकालय सहितको यो फल्चाको ऐतिहासिक महत्व रहेको छ ।
रातो मछिन्द्रनाथको गरगहनाको लगत गणना गर्ने र भजनमण्डलले यस फाल्चामा बसेर भजन कीर्तन गर्छ । पुस्तकालयका अध्यक्ष विकास डंगोलले पुच्व पुस्तकालयलाई प्रविधिमैत्री बनाइने बताए ।
इ लाइब्रेरीको अवधारणा अन्तर्गत काम भइरहेकाृे उनले जानकारी दिए । साविक दाता कर्ममाया महर्जनले सहयोग पाटी र पुस्तकालयको संरक्षणमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताइन् । पुल्चोक टोल सुधार समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रकुमार शाक्यले ललितपुर महानगरभित्र २०७२ सालमा भत्किएका ऐतिहासिक महत्वका सम्पदाहरु पुनर्निर्माणको काम धमाधम भइरहेका बताए ।
प्रारम्भ नेपालका सल्लाहकार आनी छोइङ डोल्माले विकास निर्माणको काम गर्न विदेशीको भर पर्न नहुने बताउँदै आत्मनिर्भरताको यो गतिलो उदाहरण भएको बताइन् । कार्यक्रममा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, उपाध्यक्ष गम्भीर कुमारी क्षेत्री लगायतको उपस्थिति थियो ।