भ्रष्टाचार विरोधी उपसचिव प्रेम सञ्जेल सरकारी सेवाबाट मुक्त

काठमाण्डौं । भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा चर्चा कमाएका उपसचिव प्रेम सञ्जेल सरकारी सेवाबाट मुक्त भएका हुन्।

सञ्जेलले उमेर हदका कारण अवकास पाएका हुन्। सरकारी सेवामा ४० वर्ष विताएका उनले फेसबुकमा आफू र आफ्नो पेशाप्रति आक्रोश पोखेका छन्।

‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म,’ उनले लेखेका छन्। सञ्जेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बने।

२०७६ मा श्रम तथा रोजगार कार्यालय विराटनगरको प्रमुख भएरलगत्तै उनलाई त्यहाँबाट सरुवा गरिएपछि उनले पत्रकार सम्मेलन गरेरै प्रधानमन्त्री ओलीलाई चुनौती दिएका थिए। त्यसअघि क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरको प्रमुख हुँदा पनि समयअगावै सरुवा गरिएको थियो। सरुवाको यो निर्णयविरुद्ध पनि उनी सर्वोच्च पुगेका थिए।

सञ्जेलले बोलीमा मात्र होइन कानुनी रूपमै सरकारलाई चुनौती दिएर अदालत रिट दायर गरे। सर्वोच्चले उनलाई सरुवा गर्न नमिल्ने आदेश जारी गर्‍यो।

२०३९ सालमा सेती अञ्चल अदालतमा खरिदार पदबाट निजामती सेवा प्रवेश गरेका थिए सञ्जेलले। २०६६ कात्तिकमा बढुवा भएर उपसचिव भएका सञ्जेल त्यसपछि बढुवा प्रक्रियामा सामेल भएनन्। त्यसबेला पनि सर्वोच्चबाट पुनर्बहाली भएका उनले निर्वाचन कार्यालयमा दुई वर्ष बिताए। अदालती प्रक्रियामा रहँदा उनले १७ फागुनदेखि २३ चैत २०७३ सम्म कार्यालयमा हाजिर गरेका थिएनन्।

‘हामी घुस खादैनौँ, तपाईं घुस दिन आउनुभएको भए उल्टै कारबाहीमा पर्नुहोला, हजुर सावधान!’ भन्ने उनको नाराले सेवाग्राही मात्र होइन निजामती कर्मचारीमाझ पनि चर्चाको विषय बन्यो। यो सन्देश उनी आफ्नो कार्यकक्ष र कार्यालयको गेटमा टाँस्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button