मदन भण्डारी फाउण्डेशन र स्पोर्टस एकेडेमी गठन

चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले आफ्नो मातहतका पालिकामा संस्था विस्तारलाई तीव्रता दिएको छ । रत्ननगर नगरपालिकामा फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी गठन गरिएको हो । दुवै कमिटीले रत्ननगरमा आयोजना गरेको प्रथम विस्तारित बैठकमा १०१ सदस्यीय फाउण्डेशन र ५१ सदस्यीय एकेडेमी घोषणा गरिएको छ ।
फाउण्डेशन नगर समितिका अध्यक्षमा चन्द्रकान्त न्यौपाने, वरिष्ठ उपाध्यक्षमा सीताराम पोखरेल, उपाध्यक्षमा राजेन्द्र न्यौपाने, सूर्य तामाङ, रश्मि बर्ताैला, कृष्ण श्रेष्ठ र रामप्रसाद लम्साल रहेका छन् । सचिवमा इन्द्र भण्डारी, सहसचिवमा लेखनाथ आचार्य र कोषाध्यक्षमा गोकुल पराजुली चयन भएका छन् ।
एकेडेमीका अध्यक्षमा अजित चौरेल, उपाध्यक्षमा ध्रुव बर्ताैला, लक्ष्मण परियार, केदार न्यौपाने र विष्णु सापकोटा रहनुभएको छ । समितिका सचिवमा प्रसङ्ग कायस्थ, सहसचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा रोशनी लिम्बू चयन भएका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य कृष्णकुमार राईले फाउण्डेशन कुनै दल हो जस्तो गरी हेरिनु नहुने बताए । फाउण्डेशन निर्वाचन लड्न जाने दल नभएको उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का केन्द्रीय सदस्य काशीनाथ अधिकारीले जननेता मदन भण्डारीको विचारले नै नेपालमा परिवर्तन ल्याएको बताए । उहाँले विश्वमा कम्युनिष्ट सङ्कटमा रहेका बेला नेपाली कम्युनिष्टलाई लोकप्रिय बनाउने काम जनताको बहुदलीय जनवादले नै गरेको बताए ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी, फाउण्डेशनका जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराई, नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष राम न्यौपाने, यादव पाठकलगायतले बोलेका थिए । यसअघि फाउण्डेशनले राप्ती, खैरहनी र कालिका नगरस्तरीय समिति बनाइसकेको छ ।
छिट्टै भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि विस्तार गरिने फाउण्डेशन चितवनका सहसचिव तिलक रिमालले जानकारी दिए ।